माघे सङ्क्रान्ति देशभर विशेष कार्यक्रम गरी मनाइँदै

१ माघ ०७४, काठमाडौं । माघे सङ्क्रान्तिको अवसरमा आज देशभरी विभिन्न ठाउँमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

सोमबार  काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले माघी पर्वको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।

टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दैे प्रधानमन्त्री शेरबहादुर देउवाले माघीजस्ता चाडपर्वले सबै नेपालीहरूबीच आत्मीय सम्बन्धलाई प्रगाढ बनाउन सघाउ पुर्‍याउँदै आएको स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताएका छन् ।  माघे संक्रान्तिको उपलक्ष्यमा थारु कल्याणकारिणी सेवा समितिद्वारा टुडिखेलमा आज आयोजित माघी महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै राज्य संयन्त्रमा सबैको पुहँचलाई सुनिश्चित गरेको छ, यो हामीले प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो ।’

प्रधानमन्त्री देउवाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउँदै विविधताबीचको एकता नेपाली संस्कृतिको परिचय भएको बताए ।

कार्यक्रममा थारु समुदायले आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत गरेका थिए ।

 

त्यस्तै, भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०७४’ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताएका छन् ।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि रहेको उल्लेख गर्दै राजनीतिक दलहरु ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा राखे ।

‘मलाई विश्वास छ, दलहरु चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्’, उनले भने, ‘समय र सन्दर्भ ख्याल राख्ने छन् भन्ने पनि पूर्ण विश्वास छ ।’

उनले हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरु त्यसरी नै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको धारणा राखे ।

उनले नेपालका आदिवासी जनजातिहरु आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उल्लेख गर्दै सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुन सक्नेमा उनको जोड थियो ।

उपराष्ट्रपति पुनले हाम्रो देश नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर देश रहेको चर्चा गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायको सम्मिश्रित बसोबासले नेपाललाई झनै सुन्दर बनाएको बताए

कार्यक्रममा नेपाल मगरसंघका अध्यक्ष नवीन रोकामगर, संघ उपाध्यक्ष गंगा मगर र सल्लाहकार वमकुमारी मगरलगायतले संघीयतामा राज्यले मगरात राज्यको छुट्टै स्थापना गर्न माग गरे ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

तपाइको मत