२५ साउन ०७४, काठमाडौं । सरकारले तोकिएकै मितिमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न सकिने दाबी गरिरहेकै बेला निर्वाचन आयोगले आगामी माघ ७ भित्र प्रदेशसभाको चुनाव गर्न नसकिने संकेत गरेको छ ।
आयोगले औपचारिक निर्णय नगरे पनि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी माघ ७ भित्र प्रतिनिधिसभाको मात्रै चुनाव हुन सक्ने बताएका हुन् ।
‘हामीले सरकारलाई पनि भनिसकेका छौं, दुईवटै निर्वाचन गराउने सम्भावना अब करिब-करिब टरेको छ । माघ ७ भित्र प्रतिनिधिसभाको निर्वाचनको सम्भावना छ ।’ प्रमुख निर्वाचन आयुक्त यादवले एक सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् ।
संविधानले नै माघ ७ सम्म व्यवस्थापिका संसदको म्याद तोकेको छ । संविधान कार्यन्वयनका लागि यो अवधिभित्रै प्रदेशसभाको पनि चुनाव गर्नुपर्ने हुन्छ । तर, यो अवधिमा प्रदेशसभाको चुनाव गर्न नसकिने प्रमुख आयुक्त यादवले अभिव्यक्ति दिएका छन् ।
अब संविधान कार्यान्वयनका लागि मंसिरमा प्रतिनिधिसभा चुनाव गराउने प्रस्ताव प्रमुख आयुक्त यादवको छ । तर, प्रतिनिधिसभाको चुनावका लागिसमेत सरकारले भदौ १ गतेभित्रै निर्वाचनको मिति तोक्नुपर्ने प्रमुख आयुक्त यादवकोे माग छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने सरकारको प्रस्ताव जटिल रहेको बताए । तर, यसबारेमा निर्वाचन आयोग, राजनीतिक दलहरु र सरकार तीनै पक्ष बसेर छलफल गर्न सकिने उनले बताए ।
यादवले माघ ७ अघि संविधान कार्यान्वयनका लागि प्रतिनिधिसभाको निर्वाचन भने हर-हालतमा गर्नैपर्ने बताए ।