२८ असार ०७७, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिउ खोलाको बाढीले मृत्यु र बेपत्ता भएकाको परिवारसँग भेटघाट गरेका छन् ।
बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न शनिबार माडी पुगेका प्रचण्डले रिउको बाढीमा परी बेपत्ता भएका माडी–५, धोबाहाका रामसिंह मर्दनिया र खोलाले बगाएर मृत्यु भएका माडी–८, खरकट्टाका पूर्वसिंह तामाङका परिवार र आफन्तहरुसँग घरमै पुगेर भेटघाट गरेका हुन् ।
प्रचण्डले स्थानीय तह र प्रशासनलाई बेपत्ता मर्दनियाको खोजी गर्न साथै दुबै परिवारलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।
यस्तै अध्यक्ष प्रचण्डले सांसद पदको बाँकी रहेको साढे दुई वर्ष अवधिभित्र माडीका जनताले सम्झिरहने काम गर्ने प्रतिबद्धता जनाएका छन् ।













