२२ साउन, बिराटनगर । मातृका यादव समूहको माओवादीका शिक्षक संगठनलाई प्रचण्ड र बादल समूहको शिक्षक संगठनका नेताहरुले बेवास्ता गरेर एकता भेला सुरु गरेपछि प्रदेश नम्बर १ को शिक्षक संगठनको एकता भेला ‘एकता मेला’मा परिणत भएको छ ।
माओवादी घटकहरु पार्टी एकता भएर ‘नेकपा माओवादी केन्द्र’ बनिसकेपछि शनिबार बिराटनगरमा प्रदेश नम्बर १ को शिक्षक संगठनहरुको एकता भेला भनेर प्रचण्ड समूहको एकीकृत अखिल नेपाल शिक्षक संगठन, बादल समूहको अखिल नेपाल प्रगतिशील शिक्षक संगठन र विप्लब समूहको विद्रोही अखिल नेपाल शिक्षक संगठन बिच मात्रै एकता भेला आयोजना गरिएको थियो ।
मातृका माओवादी निकट शिक्षक संगठनले उक्त भेला हुँदै गरेको सूचना पाएपछि प्रदेश नम्बर १ का मातृका माओवादी निकट शिक्षकहरु आफूहरुलाई वाईपास गरेर प्रचण्ड र बादल समूहको शिक्षक संगठनका नेताहरुले एकता भेला बिना जानकारी किन गरेको ? भन्दै नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटी सदस्य मनोज राजवंशीको नेतृत्वमा गएको शिक्षकहरुले कार्यक्रम स्थलमै गएर एकता भेला बहिष्कारको नारा लगाएपछि कार्यक्रम बिथोलिदिएको हो ।
यद्यपि, प्रचण्ड समूह, बादल समूह र बिप्लप माओवादीका विद्रोही झुण्डले प्रदेश नं. १ का शिक्षक संगठनका फ्रयाक्सन ईन्चार्ज पुष्पविक्रम मल्ल, प्रदेश नं. १ का शिक्षक संगठनका संयोजक दिननाथ तिमिल्सिना, एकीकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव शंकर अधिकारी लगायतले गम्भीर त्रूटी भएको स्वीकार गरेर माफी मागेपछि मातृका समूहका मनोज राजवंशीले मञ्चको माइकबाटै प्रदेश नम्बर १ को एकता भेलामा आफूहरुको सहभागिता नरहेको प्रष्ट पार्दै गल्ती सच्याएर अघि नबढे आफूहरुको शिक्षक संगठन अलग भई अघि बढ्ने उद्घोष गरेका थिए ।
बिहान ११ बजे सुरु हुने भनिएको एकता भेला कार्यक्रम मातृका समूहको अवरोधको कारण दिउँसो करिब २ मात्र सुरु भएको थियो ।
प्रचण्ड समूह, बादल समूह र बिप्लप माओवादीका विद्रोही समूहले विवाद भईसकेपछि अगामी दिनमा सल्लाह गरेर मात्रै कार्यक्रम गर्ने बताए पछि कार्याक्रम अघि बढेको हो ।
बिवाद चुलिएपछि प्रदेश नं. १ का फ्रयाक्सन ईन्चार्ज पुष्प विक्रम मल्ल, महासचिव शंकर अधिकारी, प्रदेश नं. १ का संयोजक दिननाथ तिमिल्सिनाले गल्ती स्वीकार गर्दै गल्ती नदोह¥याउने भनी मञ्चबाटै प्रतिवद्धता जनाएका थिए ।
विभिन्न समयमा विभाजित माओवादी समूहहरु गत जेठ ६ गते काठमाडौंमा आयोजित एकता महाधिवेशन कार्यक्रम मार्फत् एकता भई नेकपा माओवादी केन्द्र गठन भएसँगै सबै समूहको माओवादी पार्टी खारेज भए पनि विभिन्न जनवर्गीय संगठन, पेशागत संगठनहरुको एकता हुनेक्रम बाँकी नै छ ।
एकता प्रक्रियाका क्रममा विभिन्न पेशगत संगठन, जवस मोर्चाहरुको केन्द्र, प्रदेश र जिल्लाहरुमा प्रचण्ड, बादल, मातृका, मणि र विप्लब लगायतका पूर्व माओवादी समूहको विवाद यस अघि पनि सार्वजनिक भएको थियो ।