१६ फागुन ०७४, काठमाडौं । संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई विहीबारसम्म निवेदन दिन आहृवान गरेको छ ।
बुधबार सचिवालयले सपथ लिनु ३ दिनअघि नै मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई निवेदन पनि आग्रह गरेको हो ।
सचिवालयले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५ दलसँग संघीय संसदको पहिलो अधिवेशन र सांसदहरुको सपथका विषयमा छलफल गरेको छ ।
आगामी सोमबार अपरान्ह ४ बजे राष्ट्रपति विद्या भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आहृवान गरेकी छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रिय सभाका सांसदहरुको सपथ गराउने कार्यतालिका तय गरेको बताउँदै सोही कार्यतालिकाका विषयमा बुधबार दलहरुलाई औपचारिक जानकारी गराइएको बताए ।
संसद सचिवालयले संसदको अन्तरिम कार्यविधि तय गर्न आइतबार सर्वदलीय बैठक बोलाउने निर्णय पनि गरेको छ ।
प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन गराउने र सरकारले विश्वासको मत लिनेलगायतका कार्यतालिका तय गर्न पनि आइतबार सर्वदलीय बैठक बोलाइएको प्रवक्ता गौतमले जानकारी दिए ।
संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो अधिवेशन सम्पन्न भएको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
त्यसैगरी सरकार गठन भएको एक महिना भित्र विश्वासको मत पनि लिइसक्नु संवैधानिक व्यवस्था छ ।
आइतबार बोलाइएको सर्वदलीय बैठकमा सोही निर्वाचनको मिति समेत तय गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयमा हालसम्म ७ जनाले मातृभाषामा सपथ लिन निवेदन दिएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा गरी संघीय संसदमा ३ सय ३४ जना सांसद रहेका छन् । पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठक बस्नेछ ।













