मानव अधिकार आयोगले सदस्यहरुलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गरायो (विज्ञप्तिसहित)

२५ असार ०७७, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सदस्य मोहना अन्सारीले सार्वजनिक सञ्जालमा व्यक्त गरेका कुराप्रति  ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर सदस्यहरुलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराउँदै अन्सारीले सार्वजनिक सञ्जालमा व्यक्त गरेका कुराप्रति  ध्यानाकर्षण भएको जनाएको हो ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गरेपछि आयोगका सदस्य अन्सारीले असार २३ गते आफ्नो फेसबुकमा सो कारवाही खेदजनक भन्दै विभेदकारी निर्णयको घोर भत्र्सना गर्दछु भनेकी थिइन् ।

“मा. सरीता गिरीलाई समाजवादी पार्टिले कथित छानवीन प्रतिवेदनको आधारमा कारवाही गरी पार्टिवाट निसकाशन पश्चात्त साँसदवाट स्वत निलम्वन हुने गरी कारवाही गर्ने बिषय खेदजनक छ,” अन्सारीले लेखेकी थिइन, “समाजवादी पार्टिको यो निर्णय लोकतान्त्रिक मान्यता विपरित समेत छ । यस्तो विभेदकारी निर्णयको म घोर भत्र्सना गर्दछु । समाजवादी पार्टिलाई आफनो निर्णय र्फिता लिन अनुरोध गर्दछु ।”

अन्सारीको ट्वीटरको खण्डन गर्दै आयोगका अध्यक्ष अनुप राज शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई “खेद्जनक” तथा “कथित” छानविन प्रतिवेदन भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त भनाइलाई आयोगले अस्वीकार गर्दछ ।”

यस्तै आयोगले यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक भन्दै कोही पनि भ्रममा नपर्न आग्रह गरेको छ ।