२८ फागुन ०७४, डडेल्धुरा । मानव बेचविखन र यौन शोषण न्युनिकरण गर्ने उद्देश्यले डडेल्धुरामा ‘एक रुपैयाँ अभियान’ सञ्चालन गरिने भएको छ ।
महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था समाज सेवा र मानव अधिकार महिला युवा सशक्तिकरणले अभियान सञ्चालन गर्न लागेको हो ।
‘एक लाखको खुसी एक रुपैयाँमा छ किनकि तपाईंको एक रुपैयाँले लाखौं मानिसको जीवन परिवर्तन गर्न सक्छ र उनीहरुलाई मद्दत गर्न सक्छ भन्ने मूल भावनाले अभियान सुरु गर्न लागिएको अधिकारकर्मी भावना ऐरले बताइन् ।
आगामी वर्षको वैशाखदेखि सञ्चालन हुने अभियानको नेतृत्व दलित महिला संघलेे लिनेछ । यस्तै अन्य सरोकारवाला निकाय, युवा समिति, युवासञ्जाल, महिलाअधिकारकर्मी तथा सामाजिक अभियान्ताहरुको संयुक्त समन्वय हुनेछ ।
अभियानवाट संकलित रकमले हिंसा न्युनिकरणका लागि बालबालिका, किशोरकिशोरी, महिला सञ्जाल, आमासमूहहरुलाई जागरुक गराउन विभिन्न कार्यक्रम गर्ने योजना रहेको ऐरले जानकारी दिइन् ।













