२८ भदौ ०७७, काठमाडौं । औषधि व्यवस्था विभागले सेनिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारवाही गरेपछि सेनिटाइजर विषाक्त रसायनयुक्त भएको सार्वजनिक भएको छ ।
काठमाडौं र भक्तपुरका पाँच उद्योगले मापदण्डविपरीत रसायनयुक्त सेनिटाइजर उत्पादन गरेको भन्दै शनिबार ती उद्योगलाई कारबाही गरेपछि सेनिटाइजर विषाक्त रहेको सार्वजनिक भएको हो ।
विभागले काठमाडौँका हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स साथै भक्तपुरको कायाकल्प उद्योगबाट उत्पादित सेनिटाइजर विषाक्त रहेको जनाएको छ ।
औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा ती उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर सेनिटाइजर उत्पादन गरेको पाइएको भनी विभागले कारवाही गरेको छ ।
औषधि व्यवस्था विभागले पाँच उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड सेनिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड सेनिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड सेनिटाइजर’को प्रयोग नगर्न सूचना समेत जारी गरेको छ ।
विभागले ती सेनिटाइजरहरुमा विषाक्त रसायन मेथानोल मिसाएको जनाएको छ ।