मालेका महासचिव राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै प्रचण्डले व्यंग्य गरे

१५ मंसिर ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै व्यंग्य गरेका छन् ।

राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने (झापा बिद्रोह) सुरुवात गरेका मैनानलीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लागेको प्रचण्डले बताए ।

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिएका प्रचण्डले मैनालीलाई व्यंग्य गरे, मलाई त लाग्यो, उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे । साँच्चै त्यसो हो भने सीपीजीलाई बधाई छ ।’

आफूले त्यस्तो गर्न नसक्ने भन्दै उनले राप्रपासँग आफ्नो मत नमिल्ने बताए । आफू गणतन्त्रवादी, धर्म निरपेक्षतावादी भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, त म पनि तपाईंहरु जस्तै राष्ट्रवादी ।’

‘राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् । एउटा, राष्ट्रवाद भन्ने वित्तिकै हिजो भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिर फर्किन खोज्ने, अर्को सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिर नै फर्किन खोज्ने राष्ट्रवाद ।’