२६ साउन ०७४, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेताहरुले परिवर्तनकारी शक्तिहरुबीच एकीकरण हुनुपर्ने बताएका छन् ।
बिहीबार बागबजारको एक होटलमा नयाँ शक्ति पार्टीको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता देवेन्द्र पौडेल, महेन्द्र पासवान लगायत नेताहरुले ध्रुवीकरणको प्रक्रियामा आउन डा. बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, उपेन्द्र यादवलाई समेत आग्रह गरेका हुन् ।
मुख्य नेतृत्वकै कारण नयाँ शक्ति पार्टी संकटमा परेको भन्दै नेता देवेन्द्र पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौलागाई, शर्मिली लामा, रत्न राना, रविन्द्र सुनार लगायत नेताहरुले पूर्वमाओवादीवीच ध्रुवीकरण हुनुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले आफूहरुले नयाँ शक्ति पार्टी छाड्न नखोजेको तर, परिवर्तनकारी शक्ति र पूर्वमाओवादी समूहवीच ध्रुवीकरण चाहेको बताए ।
उनले आफूहरु निःशर्त प्रचण्डको पार्टीमा जान लागेको प्रचार सही नभएको भन्दै बाबुरामलाई समेत लिएर ध्रुवीकरणको पक्षमा लाग्ने बताए ।
पत्रकार सम्मेलन गर्नुपूर्व दुई घण्टा डा. बाबुराम भट्टराईसित छलफल गरेको भन्दै पत्रकार सम्मेलनमा नेता पौडेलले डा. बाबुराम भट्टराईलाई ‘आइसोलेसन’मा पार्न नहुने बताए । उनले फेरि एकपटक इतिहासको नेतृत्व गर्ने नेताको रुपमा बाबुरामलाई हेर्न चाहेको बताए ।
बाबुराम भट्टराईको अनुपस्थितिमा गरिएको उक्त पत्रकार सम्मेलनमा सहभागी नेताहरुले आफूहरुको पत्रकार सम्मेलन आधिकारिक र नयाँशक्तिकै भएको दाबी समेत गरे ।