१८ मंसिर ०७६, काठमाडौं । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका छन् ।
बिहीबारदेखि हुने परीक्षा बहिष्कार गर्ने घोषणा गर्दै नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल अफ मेडिकल साइन्समामा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएर परीक्षा बहिस्कार गरेका हुन् ।
सरकार र निजी मेडिकल कलेजको गत मंसिर १७ गते सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकाय अन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भए थियो ।
सहमतिमा आर्थिक वर्ष ०७४–०७५ र ०७५–०७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको छ भने ०७२–०७३ र ०७३–०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने उल्लेख छ ।
एमबीबीएस र बीडीएस तहको पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति अमूर्त भएको संघर्ष समितिले बताएको छ । सहमतिमा नर्सिङ, फार्मेसी, बीपीएच, बीएमआईट लगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषयमा नसमेटिएकाले पनि आन्दोलन नरोकिने संघर्ष समितिले जनाएको छ ।













