२२ असार ०७७, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना केन्द्रीय कार्यालयले एक सूचना जारी गरी मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान भनेको छ ।
आइतबारदेखि सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो तटीय क्षेत्रमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले स्थानीयलाई खोलामा नजान भनेको हो ।
आयोजनाले स्थानीयवासीलाई नदीमा पौडी खेल्न, माछा मार्न नजान भन्दै वस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा समेत विशेष सावधानी अपनाउन भनिएको छ । साथै, आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर गर्न आग्रह गरेको छ ।