मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण शुरू, उद्घाटन मिति छिट्टै घोषणा हुने

२१ असार ०७७, काठमाडौं । खानेपानीमन्त्री बिना मगरले कोरोना महामारीका कारण मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित भए पनि सुरुङ परीक्षणको कार्य अघि बढेको बताएकी छन् ।

मन्त्री मगरले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आइतबार बिहानबाट आयोजनाले मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झार्न निर्माण गरेको २६ किलोमिटर लामो सुरुङमा छाडेको बताइन् ।

उपत्यकावासीले मेलम्ची खानेपानी आगामी वर्षभित्र उपभोग गर्न पाउने भन्दै उनले छिट्टै उद्घाटनको मिति घोषणा हुने जानकारी दिइन् ।

मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको भन्दै मन्त्री मगरले भनिन्, “मेलम्ची कतै दन्त्यकथा हुने त होइन् भन्ने चिन्ताहरु थिए तर हामी चुनौतीसँग जुध्यौं र ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धि हो ।”

यस्तै पत्रकार सम्मेलनमा सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याउन बनाइएको सुरुङमा अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानी पथान्तरण गरिएको आयोजना प्रमुख तिरेशकुमार खत्रीले बताएका छन् ।

प्रमुख खत्रीले प्रतिसेकेन्ड २६० लिटर पानी पथान्तरण गर्दा २६ किलोमिटर सुरुङ क्रमशः परीक्षण गर्दै भर्नका लागि १५ देखि २० दिन लाग्ने बताए ।

उनले त्यसपछिका दश दिन त्यत्तिकै छाडिने र पुनः पानी खाली गर्न पनि अरू २० दिन लाग्ने साथै त्यसपछि सुरुङको अनुगमन सुरु हुने जानकारी दिए । र, यसरी सुरुङ परीक्षण गर्न दुई महिना समय लाग्ने बताए ।

इटालियन कम्पनी सिएमसीले बीचैमा मेलम्ची खानेपानीको काम बिचै छाडेपछि सो आयोजनाको काम हाल चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ ।