मेलम्ची खानेपानी सुरुङ परीक्षणको तयारी हुँदै

१९ जेठ ०७७, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको बताएका छन् ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सुरुङको परीक्षण गर्ने तयारी भइरहेको बताएका हुन् ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमार्फत् मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने र आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)का कारण सुरुभएको बन्दाबन्दीले आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिले बताएको छ ।

सरकारले मेलम्ची पहिलो र दोस्रो चरणका लागि पाँच अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको पानी दैनिक १७ लाख लिटर काठमाडौँ उपत्यकामा आउनेछ भने दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङमा मिसाइने छ । याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची सुरुङ मार्गमा मिसाइएपछि उपत्यकामा दैनिक ३४ करोड लिटर पानी आउने बताइएको छ ।