११ पुस ०७४, काठमाडौं । मैतीदेवीमा बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।
मंगलबार कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । चालक भने फरार छन् ।
घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको प्रहरी नायव निरीक्षक रामबहादुर बोहोराले जानकारी दिए । घाइते अधिकांश कालिमाटीमा तरकारी लिन हिँडेकाहरू रहेको बोहोराले जानकारी दिए ।
बोहोराका अनुसार सीसीटीभी फुटेजका आधारमा तीब्र गतिमा रहेको बस चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना बिहान सबा ३ बजे भएको अनुमान छ । बस बिजुलीको ट्रान्सफर्मर रहेको पोलमा ठोक्किएर पोल भाचिएर पोलले बसलाई थिचेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दोलखाका २६ वर्षीय यज्ञराज खतिवडा, रामेछापका ४५ वर्षीय गंगालाल तामाङ, उनकी श्रीमती ४३ वर्षीय संजिला तामाङ, भारतीय नागरिक भोजहरि अन्सारी, वर्ष ५७ की साबित्री थापा, ५४ वर्षीय हरिशरण फुयाल, काभ्रेकी ४५ वर्षीय च्याङ्वा तामाङ, सुर्खेतकी ३६ वर्षीय कमल महत, सिन्धुपाल्चोक मेलम्भीकी तेजकुमारी चालिसेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यस्तै सप्तरीका ४० वर्षीय भोजबहादुर राई, उनकी श्रीमती ३९ वर्षीय मैनाकुमारी राई, ३९ वर्षीय गीता धिमाल, गोकर्णेश्वरका ६४ वर्षीय नारायणप्रसाद दाहाल, वर्ष २६ की गीता अधिकारी, दोलखाकी ३७ वर्षीय पुर्ध धामी, कागेश्वरी नगरपालिकाकी ३९ वर्षीय माया श्रेष्ठ र एक ७० वर्षीय वृद्धाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।













