१८ साउन ०७७, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । साथै, मोटरसाइकलको पछाडि सवार एकजना घाइते भएका छन् ।
प्रहरीले शनिबार राति प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको बताएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले दुर्घटनापछि अस्पताल लैजाँदै गर्दा सर्लाही लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको बताए ।
प्रवक्ता कुँवरले सो दुर्घटनामा ज. १ म. २३३ नम्बरको मोटरसाइकलको पछाडि सवार श्याम साह घाइते भएको र उनको धनुषाको महेन्द्रनगरमा उपचार भइरहेको पनि बताए ।













