मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो

१२ भदौ ०७७, मोरङ । बेलबारी नगरपालिका-५ कसेनीमा दुई समूहबीच भएको झडपमा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले खुकुरी प्रहारबाट गम्भीर घाइते भएका स्थानीय ४० वर्षका चन्द्रकुमार राईको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार दिउँसो मृत्यु भएको बताएको छ ।

उक्त घटनामा घाइते भएका ४२ वर्षीय सइकुमार राई, ३२ वर्षका समुन्द्र राई १६ वर्षीय गौरव राईको विराट मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार भएको भनाभनको निहुँमा शुक्रबार दिउँसो स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूहले मृत्क चन्द्रकुमारमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।

चौधरीको समूहले खुकुरी लगायतका धारिलो हतियारले प्रहार गरेपछि दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले कुटपिट गर्ने समूहका चौधरी घाइते भएकाले विराट नर्सिङ होममा उपचारका लागि पठाइएको बताए ।

उनले घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई भने फरार रहेको साथै घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।