जीटीएका सभासदहरूको संयुक्त रूपमा राजीनामा
९ असार ०७४, दार्जिलिङ । भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएका छन् ।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, नारी मोर्चा प्रमुख आशा गुरुङसहित ४३ सभासद्ले राजीनामा दिएको मोर्चाकी नेत्री निरा शर्माले जानकारी दिइन् ।
जीटीएमा रहेका ३५ सदस्यमध्ये प्रकाश गुरुङले दुई महिनाअघि नै राजीनामा दिएका थिए ।
अर्का सभासद् सतिष पोखरेललाई केही दिनअघि बंगाल प्रहरीले पक्राउ गरेको छ । पोखरेलले पनि भोलिसम्ममा हिरासतबाटै राजीनामा दिने नेत्री शर्माले बताइन् ।
आइतबार सन् २०११ अक्टोबर १८ मा भएको सम्झौता जलाउने
तीन दिनअघि दार्जिलिङमा सम्पन्न सर्वदलीय बैठकले जीटीए खारेज गर्ने निर्णय गरेका थिए । मोर्चाले आउँदो आइतबार केन्द्र सरकार, राज्य सरकार र मोर्चाबीच सन् २०११ अक्टोबर १८ मा भएको सम्झौता जलाउने कार्यक्रम तय गरेको छ ।
सम्झौतापछि जीटीए निर्वाचनमा विजयी सबै सभासद्ले राजीनामा दिएपछि जीटीएको औचित्य सकिएको मोर्चाको भनाइ छ । जीटीएलाई मोर्चाले गोर्खाल्यान्ड प्राप्त गर्ने श्रेणीको रूपमा स्वीकार गर्दै निर्वाचनमा भाग लिएको थियो ।
पहाडको विकासका केही अधिकार प्रदान गरेको जीटीएले दार्जिलिङ, कालेबुङ, खर्साङ, मिरिक क्षेत्रमा काम गर्न पाउने अधिकार पाएको थियो । गोर्खाल्यान्डको माग गर्दै नेपाली भाषी भारतीयले सन् १९०७ देखि आजसम्म ११० वर्ष बिताइसकेका छन् ।