मौसम प्रतिकूलताका कारण आन्तरिक उडान प्रभावित

३ पुस ०७४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको छ ।

कुइरो लागेका कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान  प्रभावित भएको हो । आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले भद्र्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको बताए ।

गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रु उडान रद्द भएपछि मर्कामा परेका थिए । बुद्ध, यति, श्रीलगायतका एयरलाइन्सले उडान रद्द भएकामा यात्रुसँग क्षमायाचनाको सञ्चार गराइरहेका थिए ।

आन्तरिकतर्फ हेलिकप्टरसहित, नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् ।

यता अन्तर्राष्ट्रियतर्फ भने बढीमा आधाघण्टा आकाशमै होल्ड भए पनि नियमित उडान भइरहेको विमानस्थलले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानपख तराई क्षेत्रमा बाक्लो कुइरो लागे पनि अपराह्नतिर केही सुधार आएको छ । अहिले काठमाडौँलगायत पूर्वी तराई भेगमा आंशिक बदली रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

उनका अनुसार अझै केही दिन बिहान बाक्लो कुइरो लागे पनि दिउँसोतिर आंशिक बदलीको अवस्था रहेन अनुमान छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम ४.६ र अधिकतम १९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

तपाइको मत