२६ असार ०७७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लाको विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको बताएको छ ।
यस्तै जिप्रका म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको साथै २२ जना सम्पर्कविहीन र ३५ घर पूर्णरुपमा क्षति भएको बताए ।
उनले धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा पहिरोका कारणले २१ जना बेपत्ता भएको पनि बताए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार मङ्गला गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा रहेको दुखु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । यस्तै धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७ बिममा १० घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
प्रजिअ ढकालले घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।













