म चाहिँ तराईको नहुने, अस्ती आएर नागरिकता लिने चाहिँ हुने ?’- प्रधानमन्त्री ओली

१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकार परिर्वतनलाई संविधान कार्यान्वयन हुने नदिने र देशलाई फेरि प्रतिगमनतिर लैजाने षड्यन्त्रको संज्ञा दिएका छन् ।

PM oli

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका पूर्व महासचिव तुलसीलाल अमात्यको १९ औ स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा मधेस केन्दि्रत दलहरुको चर्को आलोचना गर्दै उनीहरुले ‘अधिकार होइन, निहुँ खोजे’को बताएका हुन् ।

‘माधव नेपालजी रौतहटमा हुनुहुन्छ । म ५५ वर्षदेखि मधेसमा छु ।’ मञ्चमा रहेका एमाले नेता माधव नेपालको नाम लिँदै प्रधानमन्त्री ओलीले भने, ‘पारीपट्टीबाट आएर फाइफुई गरेर नागरिकता लिएर हामीलाई नै उल्टै… म चाहिँ तराईको नहुने, अस्ती आएर नागरिकता लिने चाहिँ हुने ?’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले  संविधानमा केही कमिकमजोरी भए पनि तराईबासीको अधिकार नखोसिएको भन्दै मधेस केन्दि्रत दलहरुको कुनै माग नभएको उनले बताए ।

मधेस केन्दि्रत दलहरु एमालेविरुद्ध भोट दिन ‘माग’ छाडेर कुदेर आउने गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अब के हो माग ? माग त पुरा भइसक्यो । आइसक्नु भो । सरकारमा जान लाइन लाग्नु भएको छ ।’

(अर्को देशबाट) आउने वित्तिकै नागरिकता लिने र नागरिकता पाउनासाथ राष्ट्रपति/प्रधानमन्त्री किन नपाउने ? भनेको भन्दै उनले भने, ‘अर्को देशमा जन्मेकोले पाउँदैन । सकियो ।’

प्रधानमन्त्री ओलीले मधेस केन्दि्रत दलहरुलाई ‘तमसुकभन्दा लामो पत्र लेखेको’ बताउँदै ‘आउनुस्-आउनुस् वार्ता गरौं भनेर पत्र लखे पनि उनीहरु सरकार परिवर्तन पर्खेर बसेको भन्दै आफ्नो सरकारले वास्तै गरेन भन्ने मोर्चाको आरोप अस्वीकार गरे ।

‘के पूरा गर्नुहुन्छ हेरौंला । मधेस तपाईहरुको हो भनेर सही छाप गरिदिने ?’ भन्दै प्रधानमन्त्री ओलीले शेरबहादुर देउवा र प्रचण्डलाई  समेत  व्यंग्य गरे ।

तपाइको मत