माओवादी केन्द्रको केन्द्रीय कार्यालय भङ्ग : जनजागरण र समाजवादी जनता पार्टीले पाए, माओवादीको चुनाव चिह्न

माओवादीको केन्द्रीय कार्यालय भङ्ग, सचिवालय बन्यो कार्यकारी

१२ भदौ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले ०७३ जेठ ६ गते माओवादी घटकबीचको एकतापछि विभिन्न चरणमा थप गर्दै बनाएको ३५ सदस्यीय केन्द्रीय कार्यालय भङ्ग गरेको छ ।

आइतबार प्रवक्ता पम्फा भुसालले महत्वपूर्ण निर्णय लिनुपर्दा केन्द्रीय कार्यालयबाटै निर्णय गराएर काम गर्दै आएकोमा अब पार्टीको सर्वोच्च संगठनात्मक संरचना केन्द्रीय सचिवालयलाई बनाउने निर्णय भएको जानकारी दिइन् ।

अब केन्द्रीय सचिवालय कार्यकारी

अध्यक्ष पुष्पकमल दाहाल प्रदेश ७ को धनगढीमा आयोजित बैठक तथा प्रशिक्षण सकेर आइतबार नै काठमाडौं फर्केपछि लाजिम्पाटमा बसेको बैठकले केन्द्रीय कार्यालय भंग गर्दै केन्द्रीय सचिवालयलाई कार्यकारी संरचना बनाउने निर्णय गरेको हो ।

केन्द्रीय सचिवालय सदस्यमा ८२ सदस्य छन् । त्यसमा केही दिनअगाडि मात्रै एकतामा आएका देवेन्द्र पौडेल, रामचन्द्र झालगायत नेतालाई सहभागी गराएर सचिवालयलाई पूर्णता दिने माओवादी केन्द्रको तयारी रहेको छ ।

माओवादी केन्द्रका नेता मणि थापाले पार्टीमा एकता र ध्रुवीकरणको प्रक्रिया तीव्र हुँदै गइरहेको भन्दै एकता प्रक्रियामा आएका साथीहरूलाई पनि सेमट्न हेडक्वार्टर भंग गरी सचिवालयलाई माथिल्लो निकाय बनाउने निर्णय गरिएको बताए ।

गत साउन पहिलो साता बसेको सचिवालयको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आयोजक समितिसमेत विघटन गरी दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरिसकेको छ ।

जनजागरण र समाजवादी जनता पार्टीले पाए माओवादीको चुनाव चिह्न

त्यसैगरी, माओवादी केन्द्रको बैठकले आगामी प्रदेश तथा केन्द्रको निर्वाचनमा लोकमणि ढकालको जनजागरण पार्टी नेपाल र प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न दिने निर्णय गरेको छ ।

सिंह र ढकालले माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया–हथौडा’ चुनाव चिह्नमा निर्वाचन लड्न चाहेपछि माओवादी केन्द्रले उनीहरुको प्रस्ताव स्वीकृत गरेको हो ।

तपाइको मत