१४ कार्तिक ०७४, ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमार्फत् जनताले कम्युनिष्टहरूलाई फाल्ने अवस्था आएको बताएका छन् ।

कम्युनिष्टहरूले अधिनायकवाद लाद्न खोजिरहेको भन्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टी कार्यालय सानेपामा मंगलबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्न आयोजित विशेष कार्यक्रममा यस्तो बताएका हुन् ।
हरेक संकटबाट कांग्रेसले देशलाई पार लगाउँदै आएको बताउँदै प्रधानमन्त्री देउवाले राणाहरूले निहूँ खोजेका कारण उनीहरूलाई कांग्रेसले फालेको भन्दै यसपटक कम्युनिष्टहरूलाई फाल्ने अवस्था आएको बताएका हुन् ।
‘पञ्चहरुलाई फाल्यौँ, राजा ज्ञानेन्द्रले अति गरेपछि उनलाई पनि फाल्यौँ,’ उनले भने, ‘यसपटक कम्युनिष्टहरूलाई फाल्ने अवस्था आएको छ ।’
मुलुकमा कम्युनिष्टहरुको शासन आयो भने डरत्रास मात्रै रहने भन्दै देउवाले त्यस्तो अवस्था सिर्जना हुन नदिन आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनु पर्ने र कांग्रेसले नजिते देश बर्बाद हुने समेत बताए ।
‘कम्युनिष्टहरूले अधिनायकवाद लाद्न खोजिरहेका छन्’, प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्टहरूको शासन आयो भने देशमा डरत्रास मात्रै सिर्जना हुन्छ । रुन पनि पाइन्नँ, अन्याय भो भन्न पनि पाइँदैन ।’
एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र एकता संयोजन समिति गठनपछि अत्तालिएका प्रधानमन्त्री देउवाले वाम गठबन्धनपछि देशमा प्रजातन्त्र खतरामा परेको दाबी पनि गरे ।
काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मूल नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने तय गरेको छ ।













