५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात सम्बन्धि सेवा प्रदायक कार्यालय थप्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । काठमाडौंमा दुई कार्यालय र भक्तपुरमा एक कार्यालय थप्न प्रचण्डले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सोमबार बिहान मन्त्री रमेश लेखक र यातायात सचिवलाई निवासमै बोलाएर यथाशिघ्र काठमाडौंमा दुई र भक्तपुरमा एक सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सेवाग्राहीको भिडभाड बढी हुने भएकाले काममा ढिलासुस्ती हुने गरेको जनगुनासोको मध्यनजर गर्दै यातायात कार्यालयको कामलाई छिटो छरितो, प्रभावकारी, सुलभ र जनमैत्री बनाउन थप कार्यालय खोल्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र, लाइसेन्स, बिलबुकको नवीकरण, रुट परमिट लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन उपत्यकामा भक्तपुरमा १ र काठमाडौंमा थप २ कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्न मन्त्री लेखकलाई भनेका थिए ।
प्रधानमन्त्रीले सवारी चालक अनुमति पत्रको लिखित परीक्षाका लागि स्कूल, कलेजको घर भाडामा लिएर एकैचोटी चार, पाँच हजारको संख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारमको व्यवस्था, नवीकरण, रुट परमिट लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, कलेजका स्वयमसेवा गर्न चाहने विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको सचिवालयले जनाएको छ ।भेटमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।