
३१ असार ०७७, काठमाडौं । यातायात मजदुर र व्यवसायीको संयुक्त कार्यदलले कांग्रेस सभापतिलाई भेटेर सार्वजनिक सवारी साधन सञ्चालनमा सहज वातावरण बनाइदिन अनुरोध गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघ साथै कांग्रेस निकट नेपाल यातायात मजदुर संघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त कार्यदलले बुधबार कांग्रेस सभापतिलाई भेटेर यस्तो अनुरोध गरेका हुन् ।
यातायात मजदुरको संयुक्त कार्यदलले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमै गएर श्रमिक र व्यवसायीहरुका समस्याबारे ध्यानाकर्षण गराएका थिए ।
उक्त भेटबारे अखिल नेपाल यातायात मजदुर संघका रामचन्द्रका कार्कीले भने, “हाम्रा जायज कुराहरुलाई मनन गरी भेटघाट स्थलबाटै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर श्रमिक र व्यवसायीहरुका जायज आवश्यकतालाई तत्काल पूरा गरी सहजरुपमा सार्वजनिक सवारी संचालन गर्नका निमित्त सरकार समक्ष आग्रह गर्नुभयो ।”

आजै सार्वजनिक सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, काठमाडौ–ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखा बीच बैठक भएको समेत अध्यक्ष कार्कीले जानकारी दिए ।
उनले असार २९ गतेको बैठकको निरन्तरता र सवारी सञ्चालनको कार्यविधि, यातायात श्रमिक, यात्रुहरूको स्वास्थ्य मापदण्ड र सुरक्षा साथै सवारी सञ्चालन कार्यतालिका तयार भएको बताए ।
सरकारले गतहप्ता मात्रै उपत्यकाको तीन जिल्लाभित्र र त्यसबाहेक जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने बताएको थियो । तर, यातायात मजदुर र व्यवसायीहरुले आफूहरुको न्युनतम् जायज मागहरु सरकारले सम्बोधन गर्नु पर्ने भन्दै यात्रुवाहक सवारी सञ्चालन गरेका छैनन् ।













