२२ चैत्र ०७४, काठमाडौं । सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि अरनिको राजमार्गका यातायात व्यवसायीहरु आन्दोलनबाटपछि हटेका छन् ।
अरनिको राजमार्गका लागि सरकारले अन्य कम्पनीलाई पनि रुटमा इजाजत दिएपछि यातायात व्यवसायीहरुले आन्दोलनबाट पछि हट्दै बिहीबार विहानैबाट अघोषित रुपमा नै सेवा सुचारु गरेका हुन् ।
मयुर यातायातले रुट इजाजत पाएपछि ११ वटा समितिले सेवा रोकेर आन्दोलन गरेका थिए । तर, उनीहरुको आन्दोलनका बीचमा साझा, सिटी मेट्रो, महानगर र मयुर यातायातले काठमाडौं-बनेपा-धुलिखेल रुटमा इजाजत पाएका छन् ।
मयुरले बनेपासम्म मात्र सुरु गरेका बस सेवालाई अब धुलिखेलसम्म विस्तार गरेको छ । त्यसैगरी साझा यातायातले पनौती र धुलिखेलबाट सेवा दिन थालेको छ । साझाका १०-१० वटा बस धुलिखेल र पनौतीबाट चल्न थालेका छन् ।
सिटी मेट्रोले पनि बनेपासम्म रुट पाएको छ । महानगर यातायातले पनि रुट इजाजत लिन तयारी थालेको छ । योसँगै बनेपासम्म मयुर गएको बिरोध गर्दा अन्य बसले धुलिखेल र पनौतीसम्म नै सेवा विस्तार गर्न पाएका छन् ।
ठूलो बस सञ्चालन गरिरहेका विभिन्न कम्पनीले धमाधम रुट इजाजत लिएर धुलिखेल र पनौतीसम्म सेवा विस्तार गरेपछि सिन्डिकेटबाला व्यवसायीहरु पछि हटेका छन् ।