२८ असोज ०७७, सप्तरी । मुलुकको बिभिन्न भागमा महिला तथा दलित समुदायमाथि भइरहेको श्रृख्लाबद्ध हत्या हिंसा रोक्नुपर्ने लगायतका ६ बुँदे मागसहित राष्ट्रिय युवा संघ नेपाल सप्तरीले प्रदेश २ का मुख्यमन्त्रीलाई बुधवार ज्ञापनपत्र पठाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ सप्तरीका नेता कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी शंकर हरी आचार्यमार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
संघले कोरोना भाइरसको संक्रमणले समस्या र चुनौति थपिएको साथै पछिल्लो चरण दलित समुदाय र दलितमाथि हिंसात्मक घटनाहरु भइरहेको भन्दै संलग्नहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।
राष्ट्रिय युवा संघ सप्तरीका इञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवले हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च वर्गीय षडयन्त्र र पृतिसत्तात्मक सोच चिन्तन साथै अन्ध धार्मिकता र उन्मादका कारण समस्याहरु जटिल बन्दै गइरहेको उल्लेख छ ।
यस्तै दलित समुदाय लक्षित विशेष कार्यक्रम बेघरबारलाई जनता आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउनु पर्ने साथै महिलामाथि भइरहेको हिंसा रोक्न र अपराधमा संलग्नलाई दण्डित गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ ।