५ चैत्र ०७४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूस-बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएका २६ जना मध्ये पहिचान खुलेका २३ जनाको शव बंगलादेश पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूस-बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएका २६ जना मध्ये पहिचान भएका २३ जनाको शव सोमबार बंगलादेश पठाइएको हो । शवहरुलाई सुरुमा काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
बंगलादेशी सरकारले शव लिनका लागि त्यहाँको वायु सेनाको सैनिक विमान काठमाडौं पठाएको थियो ।
यहाँबाट लगिएका शवलाई सुरुमा राजधानी ढाकास्थित सैनिक रंगशालामा श्रद्धाञ्जलीका लागि राखिने छ । श्रद्धाञ्जली दिनका लागि रंगशाला प्रधानमन्त्री शेखहसिना वाजेद पनि जाने बताइएको छ ।
तत्पश्चात शवहरुलाई अन्तिम संस्कारका लागि परिवारको सदस्यलाई दिइने बंगलादेशी मिडिया ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
यूएस-बंगला एयरलाइन्सको विमानमा विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाँको मृत्यु भएको थियो ।
यस्तै दुर्घटनामा परी घाइते भएका १० जना बंगलादेशीमध्ये २ जनाको सिंगापुर एकजनाको दिल्ली र ६ जनाको ढाकामा नै उपचार भइरहेको छ । बंगलादेशी सरकारले विमान दुर्घटनामा आफ्ना नागरिकको मृत्यु भएकाले राष्ट्रिय शोकको समेत घोषणा गरेको थियो ।













