१४ मंसिर ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष जय बहादुर कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा याेजना सफल कार्यान्वयन हुन नसकेको बताएका छन् ।
शनिबार अन्टुफ ललितपुरको पूर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्नेक्रममा उपाध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
“देशभर करिब ९ लाख भन्दा बढी उद्योग धन्दा रहेकोमा एक वर्षको अवधिभित्र ११ हजार औधोगिक प्रतिष्ठान सूचीकृत हुनु राम्रो लक्षण होइन्” उपाध्यक्ष कार्कीले भने, “अहिलेसम्म एक लाख १५ हजार श्रमिक सुचीकरण हुनु साथै कोष स्थापना भएदेखि २ जना श्रमिक मात्रै यसबाट लाभान्वित हुनुलाई सामाजिक सुरक्षा योजना सफल भएको मान्न मिल्दैन ।”
श्रम ऐनका मजदुरविरोधी दफाहरूको संशोधन गर्न र सामाजिक सुरक्षा योजनालाई सफलतातिर लैजान श्रमजीवी मजदुरहरूको आन्दोलनले मात्रै सक्ने भएकाले आम श्रमिकहरू र ट्रेड युनियनकर्मीहरूले त्यसैअनूरुपका संघर्षका कार्यक्रमहरू बनाउनु पर्नेमा जोड दिए ।
यसैगरी महासंघका अर्का उपाध्यक्ष सोम बहादुर थापाले पुनर्गठित कार्यसमितिलाई शुभकामना दिँदै ललितपुर जिल्ला कम्युनिष्ट पार्टीकै लालकिल्ला भएकाले लालकिल्लाको जनसंगठन र नेतृत्व लाल नै बन्नु पर्ने बताएका थिए ।
“कम्युनिष्ट पार्टीको ‘लाल किल्ला’ रहेको जिल्लाकाे जनसंगठन र नेतृत्व आफ्नै अनुकूल चल्ने ‘ताल किल्ला’, ‘जाल किल्ला’, र अर्थोपार्जनमा लाग्ने ‘मालकिल्ला’ बन्नु हुँदैन्,” उपाध्यक्ष थापाले भने, ‘नयाँ नेतृत्व र नयाँ कार्यसमितिले जाल, ताल र मालबाट माथि उठेर संगठनलाई सशक्त बनाउन नेतृत्वदायी भुमिका खेल्नेछ, त्यसअर्थमा नयाँ नेतृत्व र कार्यसमितिलाई शुभकामना छ ।”
बैठकमा महासंघका केन्द्रीय सचिव सोम तामाङ, ३ नं. प्रदेश अध्यक्ष पिताम्बर गिरी, उपाध्यक्ष होम बहादुर खड्का, गोमा तामाङले बैठकमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
यसैगरी अखिल नेपाल धातु मजदुर संघका अध्यक्ष मातृका कोइराला, सेक्युरिटीका उपाध्यक्ष खगेन्द्र धिमाल, उपत्यका संयोजक टीका थापा, लोकमणि खतिवाडाको उपस्थितिमा बसेको उक्त बैठकको अध्यक्षता साथै सञ्चालन अन्टुफ ललितपुरका अध्यक्ष लिलाकमाुर श्रेष्ठले गरेका थिए ।















