योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अस्थायी, करार, ज्यालादारी कर्मचारी

२ बैशाख ०८२, काठमाडौं । सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको जानकारी दिए ।

यससँगै सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने भएका छन् ।

गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ ।

योगदानकर्ताका रुपमा सूचीकृत कर्मचारीको खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर योजनामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ ।