यो वर्ष निर्वाचन वर्ष, संविधान कार्यान्वयन गर्न निरन्तर निर्वाचनपछि निर्वाचन – गृहमन्त्री शर्मा

१८ भदाै ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले यो वर्ष निर्वाचन वर्षका रूपमा आएको भन्दै संविधान कार्यान्वयन गर्न निरन्तर निर्वाचनपछि निर्वाचन हुने बताएका छन् ।

गृहमन्त्री शर्माले आइतबार जनकपुरमा दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि आयोजित गृहमन्त्रालयको सुरक्षा गोष्ठीमा सो कुरा बताएका हुन् ।

‘यो वर्ष निर्वाचन वर्षका रूपमा आएको छ । संविधान कार्यान्वयन गर्न निरन्तर निर्वाचनपछि निर्वाचन हुनेछन्’ मन्त्री शर्माले  भने, ‘यी सबै चुनावलाई शान्त, सुव्यवस्थित र निश्पक्ष बनाउन सुरक्षा निकाय प्रतिबद्ध छ ।’

उनले दुई चरणका स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल गृहमन्त्रालय मातहतको सम्पूर्ण सुरक्षा निकाय तेस्रो चरणको निर्वाचनमा पनि सुरक्षाको विषयमा पूर्ण रूपमा तयार रहेको बताए ।

‘गृह मन्त्रालयका लागि अहिलेको चुनाव सम्पन्न गर्नु पहिलो प्राथमिकता हो’ मन्त्री शर्माले भने ।

सबै निर्वाचनपछि संविधान पूर्ण रूपमा कार्यान्वयन हुने र जनताका अधिकार स्थापित हुने बताउँदै शर्माले भने, ‘थप अधिकारका लागि नयाँ आउने सरकार र प्रतिनिधिहरूले आवश्यक परिमार्जन गर्न सक्ने अवस्था रहन्छ ।’

त्यसैगरी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न पाउने वातावरण निर्माण हुने विश्वास मन्त्री शर्माले व्यक्त गरे ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा जनकपुरको होटेल सीताशरणमा सुरु भएको गोष्ठीमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, पूर्वाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, मध्यमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपकुमार रेग्मी, व्यवस्था तथा युद्ध कार्य महानिर्देशनालय नेपाली सेनाका निर्देशक उपरथी देवकुमार सुवेदीलगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।

तपाइको मत