
राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ । यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ ।
यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् । रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन् । यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छाला रोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञसम्म पुगेका हुन्छन् । डिल्युजन रोगका बिरामी आफ्नो (श्रीमान्÷श्रीमती) लाई शंका गर्दछन् । अनेकौं कुरा तथा प्रमाण जुटाउन खोजीनीति गर्छन् र शंकै–शंकामा डुबेका हुन्छन् ।
कति डिप्रेसन रोगका बिरामी मेरो रोग यौन रोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनिया रोगका बिरामीमा यौन उत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छ । सिजोफोर्नियाका बिरामीमा यौन उत्तेजना हुँदैन । उनीहरु यौनबारे अनेकौं गलत विश्वास लिई बसेका हुन्छन् ।
यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष
– यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ ।
– यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ ।
– यौन समस्या पुरुष र महिला दुवैमा पाइन्छ ।
– यौनबारे वैज्ञानिक धारणा आवश्यक छ ।
– उपचार गरे यौन रोग निको हुन्छ ।
– यौन अंग र यसका कामबारे धेरै मानिसलाई जानकारी छैन ।
– प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छ ।
– यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ ।
– महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु हुन्छ ।
– विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला ।
– महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जति बेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ ।
– सामान्यतया मन आनन्द हुन मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुन्छ ।
– यौन चाहना नहुँदा श्रीमान्–श्रीमती विवाह बन्धन टुटेको धेरै उदाहरण छन् । विवाह त भयो तर सँगै नसुत्ने दम्पतीमध्ये कुनै एकमा यौन चाहना नै नहुँदा छोडपत्र भएका घटना छन् ।
– यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स, हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन्छन् । त्यसैले सुरक्षित यौन सम्पर्क आवश्यक छ ।
– मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरु सम्झँदा यौन चाहना बढ्छ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन् ।
डा. सीपी सेडाई
नशा तथा मनोरोग विशेषज्ञ
चितवन मेडिकल कलेज
साभार : स्वास्थ्य खबरबाट ।