१४ असोज ०७६, काठमाडौं । सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि पदबाट राजीनामा दिएका छन् ।
उनको चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे अनुसन्धान गर्न सहज होस् भनी राजीनामा दिएको उनले उपसभामुखसमक्ष बुझाएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
‘मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका अधारमा आजैमा मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लािग राजीनामा दिएको छु’ सभामुख महराले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
संसद सचिवालयकी एक महिला कर्मचारीले आफूमाथि सभामुख कृष्ण बहादुर महराले आइतबार राति यौन दुर्व्यवहार गरेको भनेर गम्भीर आरोप लगाएको भिडियो सार्वजनिक भएसँगै मंगलबार बसेको नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजनीमा दिन सुझाव दिएको थियो ।
त्यसलगतै सभामुख महराले उपसभामुख समक्ष राजीनामा बुझाएको थियो । महरा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।














