२६ पुस, रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसको कोटाबाट रक्षामन्त्री बनेका बालकृष्ण खाँडले आफ्नै पार्टीका स्वास्थ्य मन्त्रीलाई बाण हानेका छन् ।
रक्षामन्त्री बालकृष्ण खाँणले बुधबार रुपन्देहीको बुटवलमा मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवाको उदघाटन कार्यक्रममा आफ्नै पार्टीबाट स्वास्थ्य मन्त्री बनेका गगन थापाप्रति लक्षित गरेर आफू स्वास्थ्य मन्त्री भएको भए हरेक अस्पतालमा हेलिप्याड बनाउन निर्देशन दिन्थेँ भनेर बाण हानेका हुन् ।
‘म स्वास्थ्य मन्त्री भएको भए हरेक अस्पताललाई आफ्नै हेलिप्याड बनाउन निर्देशन दिन्थेँ’ उदघाटन कार्यक्रममा मन्त्री खाँणले भने, ‘त्यस्तो हुँदा बिरामीको ज्यान जान पाउँदैन, छिटो र सहज रुपमा अस्पतालमा पुर्याउन सकिन्छ ।’
सवारी जामले कैयौं बिरामीहरुको अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गुमाउनु परेको भन्दै मन्त्री खाँणले हरेक अस्पतालको आफ्नै हेलिप्याड हुनुपर्ने बताएका हुन् ।
लुम्बिनी अञ्चलमै पहिलोपटक रुपन्देहीको बुटवलमा निजी क्षेत्रबाट सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले मिर्गौलाको डायलाइसिस सेवा सुरू भएको छ ।