रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसला पुनरावलोकन हुने

११ साउन ०७७, काठमाडौं । सर्वोच्च अदालतले हालै रञ्जन कोइरालालाई जन्मकैदको सजाय घटाउने गरी भएको फैसला पुनरावलोकन गर्ने अनुमति दिएको छ ।

पत्नी हत्याको आरोपमा कोइरालालाई यसअघि सर्वस्वसहित जन्मकैदको आदेश भएकोमा सर्वोच्चले कैद मिनाहा गर्ने निर्णय गरेको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिलको तर्फबाट पेस भएको निवेदनमा आइतबार पूर्ण इजलासले पुनरावलोकन अनुमति दिएको हो ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश समेको संयुक्त इजलासको आदेश प्रतिपादित नजीर प्रतिकूल भएको पनि आदेशमा भनिएको छ ।

‘प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लास लुकाउन गरेका क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितब्य हो कि भनी मान्न मिल्ने अवस्था समेत देखिँदैन,’ पुनरावलोकन अनुमति दिने आदेशमा भनिएको छ ।

पुनरावलोकन अनुमति पाएसँगै उक्त मुद्दामा सर्वोच्चमा यसअघि फैसलामा संलग्न, निस्सा दिने तथा कुनै न कुनै रुपमा संलग्न भएका न्यायाधीशले सुनुवाइमा बस्न पाउने छैनन् । प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु तेजबहादुर केसी, डा. आनन्दमोहन भट्टराईले मुद्दाको सुनुावइमा सहभागी हुन पाउने छैनन् ।

यसैगरी न्यायाधीशहरु पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा, मनोजकुमार शर्मा र सपना प्रधान मल्लले पनि मुद्दाको सुनुावइमा सहभागी हुने पाउने छैनन् ।