१३ कार्तिक ०८१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसहित ५ वटा सहकारीबाट बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान हुने भएको छ ।
नेपाल प्रहरी उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा भएको अनुसन्धान सकिएलगत्तै उनलाई अन्यत्रका सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिएको छ ।
लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शनसहित ५ वटा सहकारीको रकम लगानी भएको देखिएको थियो । त्यसरी रकम गएको सबै सहकारीको अनियमिततामा रविलाई जिम्मेवार बनाइने अधिकृतहरुको भनाइ छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सुर्यदर्शनपछि उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी संस्थामा भएको बचतकर्ताको रकम अनियमितामा पनि अनुसन्धान हुनेछ ।
ती सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सहकारीमा लगानी गरिएको देखिएको नेकपा एमालेका सांसद् सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको प्रतिवेदनमा पनि उल्लेख छ । थप ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा लगिएको भेटिएको छ ।
समितिले सहकारीको रकम निजी कम्पनीमा लैजानु नै गैरकानूनी भएको समेत भनेको छ ।