१५ भदौ ०७४, काठमाडौं । नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका अन्तर्राष्ट्रिय नाकाको रूपमा प्रयोग हुने भएको छ ।
दुई देशका अधिकारीहरूले बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रूपमा यो नाकालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । दुवै देशका अधिकारीहरूले यस नाकालाई विकसित गरेर अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए ।
अन्तर्राष्ट्रिय नाकाको रूपमा रूपान्तरण भएपछि यस नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् ।
दुई देशबीच मुख्य नाकाका रूपमा प्रयोग हुँदै आएको तातोपानी २०७२ सालको भूकम्पपछि बन्द रहेको अवस्थामा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्ने सहमति भएको हो । चीनको स्वशासित क्षेत्रको तिब्बतसँग जोडिएको यो नाका तातोपानी बन्द भएपछि पहिलो विकल्पको रूपमा प्रयोग हुँदै आएको थियो ।
महावाणिज्यदूत कार्कीका अनुसार नाका सञ्चालनका लागि चीनतर्फको सम्पूर्ण पूर्वाधार तयार भइसकेको छ । नेपालतर्फ पनि पूर्वाधार निर्माणको थप काम भइरहेको छ । ‘अन्तर्राष्ट्रिय स्तरको बनाइएपछि दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने छ,’ ल्हासामा रहेका कार्कीले इमेलमार्फत जानकारी दिए, ‘नेपालले चीनको दीर्घकालीन योजना वन बेल्ट वन रोड (ओबोर) मा हस्ताक्षर समेत गरिसकेको छ । यो नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन भएपछि दुवै देशको सम्पर्क सञ्जाल एवम् व्यापार, पर्यटन र लगानी प्रवद्र्धन हुनेछ ।’
यो नाका भविष्यमा चीनलाई दक्षिण एसियासँग जोड्ने महत्वपूर्ण प्रवेशमार्ग हुने दुवै देशका अधिकारीहरूको विश्वास छ । दुवै देशले यसै नाकामार्फत दुई देशलाई रेलमार्गसँग जोड्ने पहलसमेत गरिरहेको छ । नेपालका तर्फबाट यही मार्ग हुँदै नवलपरासीबाट भारतलाई जोड्ने ठूलो सडकमार्ग निर्माण गर्ने पहल भइरहेको आजको गोरखापत्रमा खबर छ ।