२९ बैशाख ०७५, काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेका छन् ।
शनिबार बिहान नेपाल सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर पुगेका हुन् । शनिबार बिहान ७:५५ मा मुक्तिनाथ मन्दिर नजिकैको हेलिप्याडमा उत्रिए ।
मोदी मुक्तिनाथको दर्शनपछि काठमाडौं फर्किनेछन् । काठमाडौं आएर पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि राजनीतिक भेटघाट गरी उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।
मोदी शुक्रबार नयाँ दिल्लीबाट सिधै जनकपुर अवतरण गरेका थिए । जानकी मन्दिरमा पूजा र १२ विघामा नागरिक अभिनन्दनमा सहभागी भएका मोदीले शुक्रबार अरुण तेस्रोको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका थिए ।
उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए ।