१५ चैत ०८१, काठमाडौं । समाजवादी मोर्चा नेपालले शुक्रबार राजधानीमा बिशाल जनसभा सम्पन्न गरेको छ ।
करिब ३५ सयको संख्यामा उपस्थिति राजावादीहरूले तीनकुने क्षेत्रमा दुई जनाको ज्यान जानेगरी हिंसात्मक गतिविधि मच्चाइरहँदा भृकुटीमण्डपमा समाजवादी मोर्चाले एक लाख बढीको जनसहभागितामा शान्तिपूर्ण जनसभा आयोजना गरेका हुन् ।
समाजवादी मोर्चाले राजधानीको त्रिपुरेश्वर, कुपण्डोल, बबरमहल, सोह्रखुट्टे, लैनचौर, सुन्धारा लगायत ठाउँबाट -यालीसहित निकालेको जुलुस भृकुटीमण्डपमा पुगेपछि बिशाल जनसभामा रुपान्तरण भएको थियो ।
उक्त सभालाई सम्बोधन गर्ने क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड लगायत मोर्चा आवद्ध शीर्ष नेताहरू राजसंस्थाप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए ।
उनीहरुले सरकारको गतिविधिका कारण पनि राजावादीहरुले खेल्ने ठाउँ पाएको भनेर सरकारलाई खबरदारी गरेका थिए ।
बिशाल जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई ‘मण्डले’ को संज्ञा दिँदै तीनकुने घटना अराजकताको पराकाष्ठा भएको बताए ।
‘घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन्,’ सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकाष्ठा भएको छ ।’
हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले उल्टो–उल्टो काम गरिरहेको बताउँदै प्रचण्डले प्रधानमन्त्रीलाई राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठाए ।
‘भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो,’ प्रचण्डले प्रधानमन्त्री ओलीमाथि नै आशंका गर्दै भने, ‘अहिले उल्टो–उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’
प्रचण्डले शान्तिपूर्ण तरिकाबाट राजावादीको गतिविधि नियन्त्रण हुनुपर्ने पनि बताए ।
गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको बताउँदै प्रचण्डले भने, ‘हामी गणतन्त्रवादीले जनताका आशा÷अपेक्षाअनुरूप काम गर्न नसकेकै कारण इतिहासको कुडा–कर्कटमा पु¥याइएकाहरूले टाउको उठाएका हुन् ।’