१८ कार्तिक ०७४, पर्सा । राजनीतिक दलहरुबाट आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिनेहरुमा उद्योगीदेखि पूर्वसरकारी कर्मचारी र ठेकेदारहरु रहेका छन् ।
निकै सकसकाबीच उम्मेदवार चयन गरेका दलहरुले राजनीतिक विचार र सिद्धान्तलाई भन्दा पैसावालाहरुलाई बढी प्राथामिकतामा राखेर टिकट वितरण गरेका छन् ।
बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धनको नाममा उद्योगी, व्यापारी, पूर्व कर्मचारी र ठेकेदारहरु समेतले टिकट पाएका छन् । भने, पार्टीमा सक्रिय राजनीति गर्ने नेताहरु भने बाईपास भएका छन् ।
टिकट पाउनकै लागि पार्टी परिवर्तन गर्नेहरुका कारण लामो समयसम्म एउटै पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरु भने पाखा लगाइएपछि दलहरु भित्र चरम असन्तुष्टि पनि देखिएको छ ।
यद्यपि, बाहिरीरुपमा भने उनीहरुले सहयोग गरिरहेका छन् । सबै राजनीतिक दलमा पैसावालाहरुलाई मात्रै भित्र्याउने एउटै प्रवृत्ति देखिएपछि कार्यकर्ताहरु विकल्प खोज्ने वा निष्कृय भई बस्ने अवस्थामा पुगेका छन् ।
पार्टी परिवर्तन गरेर उम्मेदवारी दिनेहरुमा सबैभन्दा बढी मधेस केन्द्रीत दलका नेताहरु देखिएका छन् । कोहीले भने स्वतन्त्र रुपमा नै उम्मेदवारी दिएका छन् ।
पर्सा क्षेत्र नम्बर ४ को ख मा पूर्व नेविसंघका नेता एवं ठेकेदार सुरेश पटेललाई माओवादीले मनोनयन दर्ताको मिति भन्दा एकदिन अगाडि मात्रै पार्टीमा प्रवेश गराएर प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
त्यस्तै मालपोत कार्यालयबाट सेवानिवृत्त भएका विध्याञ्चल ठाकुर पनि उम्मेदवार बन्नका लागि बाम गठबन्धनमा प्रवेश गरेका थिए ।
पर्सा क्षेत्र नम्बर ३ को (क) बाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य छोटेलाल प्रसाद यादवलाई दिइएको टिकट विध्याञ्चल ठाकुरलाई दिइने भनेर उनलाई बाम गठबन्धनमा प्रवेश गराएको भएपनि छोटेलाल यादवको टिकट परिवर्तन नहुने भएपछि ठाकुरले टिकट नपाउने देखेर तत्काल प्रेस विज्ञप्ति नै जारी गरेर आपूm कुनै पार्टीमा प्रवेश नगरेको जनाएका थिए ।
पर्साको क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका उम्मेदवार सलिम मन्सुर रहेका छन् । माओवादीको भागमा परेको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि मन्सुरलाई उम्मेदवार बनाएको हो ।
नी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य एवं जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँका भाई र इण्डो नेपाल आँखा अस्पतालका सञ्चालक पनि हुन् ।
त्यसैगरी वीरगन्ज महानगरपालिकामा वरिष्ठ अधिकृतको रुपमा कार्यरत शम्भु गुप्ता संसद बन्ने सपना बोकेर सरकारी जागिरबाट राजीनामा दिएर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । तर, उनलाई पार्टीले टिकट नदिएपछि तुरुन्त बाम गठबन्धनमा प्रवेश गरी पर्सा क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
गुप्ता महानगरपालिकाको कर्मचारी मात्रै नभएर विभिन्न शिक्षण संस्था र सहकारी संस्थाका सञ्चालक पनि हुन् ।
बाम गठबन्धनबाट क्षेत्र नम्बर ४ को ‘ख’ बाट माओवादीबाट सुरेश पटेल प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । पूर्व नेविसंघका नेता रहेका उनी मनोनयन गर्ने मिति भन्दा अघिल्लो दिन मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका उनी पनि ठेकेदार हुन् ।
राजपा र संघीय समाजवादी फोरम नेपाल गठबन्धनले क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार ठेकेदार हरिनायारण रौनियारलाई बनाएको छ । उनी पप्पु कन्सट्रक्सनका सञ्चालक हुन् ।
उनीमाथि स्थानीय तह निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप समेत लागेको छ । साथै, पोखरिया नगरपालिकाको मेयरको निर्वाचनमा नेपाली कांग्रेसका मेयर उम्मेदवार रहेका भाई रामेश्वर रौनियारलाई सहयोग गरेर प्रद्युम्न चौहानलाई हराएको आरोप लागेको छ ।
फोरममा प्रवेश गर्नु अघि उनी विभिन्न राजनीतिक दलहका शीर्ष नेताहरुसँग साँठगाँठ गरेर ठेक्का आफ्नो हातमा पार्ने गरेका थिए । उनले निर्माण गरेको विभिन्न स्थानको भौतिक संरचनाहरु कमसल हुने गरेकाले कालोसूचीमा समेत परिसकेका ठेकेदार हुन् ।
नेपाली कांग्रेसले विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेका अनिल कुमार रुंगटालाई क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ ।
राप्रपासँग तालमेल गर्दा राजिव पराजुलीलाई टिकट दिने चर्चा चलेपछि कांग्रेस भित्र चर्को असन्तुष्टि चुलिएको थियो । रुंगटालाई नै टिकट दिनुपर्ने जिल्लादेखि केन्द्रसम्म दवाब भएपछि उनलाई टिकट दिइएको हो । उनी निवर्तमान सांसद पनि हुन् ।
नेपाली कांग्रेस पर्सामा यसपटक सबैलाई मिलाएर टिकट वितरण गरेकाले क्षेत्र नम्बर १ मा अनिल रुंगटाले जित्ने निश्चित भएको कांग्रेस कार्यकर्ताहरुको दावी छ ।