५ माघ ०७४, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित एवम् पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको गलत प्रयोग गरेको आरोप लगाएका छन् ।
वर्तमान सरकारलाई सङ्केत गर्दै सिलवालले शुक्रबार ट्वीट गरी शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गरेको आरोप लगाएका हुन् ।
सातवटै प्रदेशमा प्रहरीले सिलवाललाई पक्रन सर्कुलर जारी गरेपछि उनले ‘सत्यको जगमा त्यसको डटेर सामना हुने’ पनि बताएका छन् ।
‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’ सिलवालले ट्विटरमा लेखेका छन् ।
प्रहरीले आईजी नियुक्ति मुद्दामा पूर्वडीआईजी सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ भने, सिलवाल फरार छन् ।