राजनीतिक सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीको प्रस्ताव

२० पुस ०७४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार बलुवाटारमा प्रतिनिधिसभाका राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने तयारी थियो । तर, एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न चाहेनन् ।

बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले राष्ट्रियसभाको निर्वाचन जतिसक्दो छिटो गर्नुपर्नेमा जोड दिएका थिए। त्यसमा एमाले तथा राजपाका नेताहरुले पनि सहमति जनाएका थिए ।

त्यस्तै, राजपा नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका लागि प्रस्ताव गरेपछि विभिन्न नेताहरुले आ-आफ्नो धारणा राखेका बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार एमालेका नेताहरु प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने काम सरकारको भएको उल्लेख गर्दै सरकारले आफ्नो काम गर्न भनेका थिए । यस सम्बन्धमा के कस्ता प्रतिवेदनहरु छन्, त्यस सम्बन्धमा आफुहरुलाई जानकारी नभएको उल्लेख समेत गरेका थिए ।

बैठकमा एमाले अध्यक्ष केपी ओली बाहेक सबै दलका शीर्ष नेताहरु माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुषपकमल दाहाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, एमालेका तर्फबाट सुवास नेम्बाङ, भीम रावल, अग्नी खरेल, कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, शशांक कोइराला, विजय गच्छदार राजपा संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो लगायत अन्य नेताहरु पनि सहभागी थिए ।

तपाइको मत