२६ बैशाख, काठमाडौं । चिनियाँं परराष्ट्रमन्त्री वाङ यीले बेइजिङस्थित नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा नेपालमा सरकार परिवर्तनको प्रयास असफल भएलगत्तै राजनीतिक स्थायित्व कायम गर्न सुझाव दिएका छन् ।
मास्केका अनुसार वाङले शुक्रबार वर्तमान अवस्थामा नेपालको राजनीति निकै तरल रहेको र पछिल्लो राजनीतिक विकासक्रमलाई चीनले गम्भीर रूपमा लिएको संकेत दिएका थिए । राजनीतिक स्थायित्वकै कारण चीनले छोटो समयमा विकासको फड्को मारेको अनुभव सुनाउँदै उनले नेपालका राजनीतिक दलहरूबीच राम्रो समझदारी र साझेदारी हुनुपर्ने विचार व्यक्त गरेका थिए ।