२ असार ०७४, काठमाडौं । सरकारले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपाल राजपासँगको छलफलपछि २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरे पनि राजपाका कार्यकर्ताहरु अराजक क्रियाकलाप गर्न लागेका छन् ।
राजपाले आह्वान गरेको मधेश बन्दको चौथो दिन शुक्रवार सिराहामा प्रहरी सवार बसमा तोडफोड गरेका छन् । उनीहरुले सिराहाको गोलबजारमा प्रहरीले प्रयोग गरेको बस तोडफोड गरेका हुन् ।
उता नवलपरासीको परासीको भित्री भागमा राजपा कार्यकर्ताले कांग्रेसको झण्डा र चुनाव प्रचारमा प्रयोग भएका टिसर्ट सडकमा लगेर जलाएका छन् ।
त्यसैगरी राजपा कार्यकर्ताले महोत्तरीमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको कार्यालयमा तोडफोड गरेका छन् ।
राजपाका नेता उपेन्द्र महतोले प्रहरीको गाडी तोडफोड र कांग्रेसको झण्डा जलाइएको पुष्टि गर्दै ती अराजक घटनाका फोटो समेत फेसबुकमा पोष्ट गरेका छन् ।