राजपाका त्रिपाठीले एमालेको सूर्य चिन्हबाट निर्वाचनमा चुनाव लड्ने

१७ असोज ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य हृदयेश त्रिपाठीसहित पाँच नेताले ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका छन् ।

हाल ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका राजपाबाट विद्रोह गरेका त्रिपाठीसहितका नेताले एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लड्ने भएका हुन् ।

एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको हो । सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल तथा समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गरेका छन् ।

पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्छन् ।

दुई पक्षबीच सोमबार भएको दुईबुँदे सहमतिअनुसार समूहका नेताहरु सोही परिचयका साथ चुनावमा सहभागी हुनेछन् तर चिन्ह भने सूर्य प्रयोग गर्ने छन् ।

 

तपाइको मत