राजपाको निर्णय आज

२ असार ०७४, काठमाडौं । सरकारले प्रदेश २ को निर्वाचन तीन महिना सार्दै अन्य तीन प्रदेशको चुनावमा सहभागी हुन आग्रह गरेपछि राजपाले त्यस विषयमा शुक्रबार निर्णय गर्ने भएको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिलगायत मागलाई पूर्वसर्तका रूपमा अघि सारेर निर्वाचनलक्षित आन्दोलन घोषणा गरेका राजपा नेताहरूले निर्वाचन सार्ने निर्णयमा आफ्नो समर्थन नरहेको भन्दै माग पूरा नभई निर्वाचनमा नजाने संकेत दिएका छन् । अध्यक्षमण्डलका नेता अनिलकुमार झाले पार्टीको शुक्रबार बस्ने बैठकमा छलफल हुने बताउनुभयो ।

शुक्रबारको बैठकले ‘विशेष निर्णय’ लिने जानकारी दिँदै उहाँले चुनाव स्थगित भएको २ नं. प्रदेशका कार्यकर्तालाई समेत १, ५ र ७ को आन्दोलनमा परिचालन गर्ने बताउनुभयो ।

‘२ नं. प्रदेशबाहेक अन्यत्र आगामी दिनका कार्यक्रम झनै सशक्त र प्रभावकारी हुनेछन्’, उहाँले भन्नुभयो, ‘२ नं. प्रदेशमा झैँ अन्यत्र पनि असोज वा उपयुक्त मितिमा चुनाव सार्न आफूहरूले गरेको माग सम्बोधन नभएकाले आन्दोलनको विकल्प रहेन ।’

राजपाका महासचिव केशव झाले आफूहरूको माग प्रदेश नं. २ र ५ को चुनाव स्थगन भएको र त्यो पूरा नभएकाले ५ नं. प्रदेशमा चुनाव स्थगित गराउन अपनाउने रणनीतिका सम्बन्धमा अध्यक्षमण्डलले ‘विशेष निर्णय’ गर्ने बताउनुभयो ।

सत्तारुढ दल र सत्तासमर्थक राजपाका शीर्ष नेताबीच बिहीबार बसेको बैठकले प्रदेश २ को निर्वाचन तीन महिनापछि असोज २ गते गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेश १, ५ र ७ को निर्वाचन आसार १४ गते नै गर्ने तर निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई दिनपछि असार ४ गते आइतबार गर्ने सहमति गरेको थियो ।

गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं. प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा सहमति भएको बताउनुभयो ।

तपाइको मत