१० भदौ ०७४, काठमाडौं । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन वहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
महन्थ ठाकुर नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।
दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्तसँग समेत भेटवार्ता गरी स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको बारेमा छलफल गरेको छ ।
छलफलपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दलदर्ताको लागि आयोगमा आएको बताए ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेका छन् ।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुदैछ ।