४ असार ०७४, भैरहवा । राष्ट्रिय जनता पार्टी नेपालले चुनाव बहिस्कार गरे पनि जिल्लाका नेता, कार्यकर्ताले स्वतन्त्र उम्मेदवारका रूपमा मनाेनयन दर्ता गराएका छन् ।
राजपा नेपालले रुपन्देहीका तीन स्थानीय तहमा मात्रै १ सय १० जनाभन्दा बढीले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको स्रोतले बताएको छ ।
केन्द्रीय नेताहरुले चुनाव बहिस्कार गरे पनि जिल्ला तहका नेता र कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएको हो ।
राजपाका नेताहरुले रुपन्देहीका सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पुर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् ।
प्रत्येक गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको स्रोतले बताएको छ ।
सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल र उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन् ।
त्यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यो साविकको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकाहरु हुन्, जसलाई राजपा नेता शर्वेन्द्रनाथ शुक्लाको पकड भएको क्षेत्र मानिन्छ । र, उनीहरूलार्इ राजपाले नभर्इ शुक्लाले नै उम्मेदवार बनाएको दाबी छ ।