राजपा नेपाल दल दर्ता गरी चुनाव चिन्ह दिए निर्वाचनमा सहभागी हुने !

१६ जेठ ०७४, काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ता गरी चुनाव चिन्ह दिई मधेसमा जनसंख्याका आधारमा स्थानीय तह संख्या निर्धारण गरिए निर्वाचनमा सहभागी हुने बताएको छ ।

प्रमुख चार दलको सहमतिमा सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन आगामी ९ असारमा गर्ने निर्णय गरिसकेको अवस्थामा उसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

राजपा नेपालले संविधान संशोधन, स्थानीय तह संख्या मधेसमा जनसंख्याका आधारमा निर्धारण गर्नुपर्ने, दल दर्ता गरी निर्वाचन चुनाव चिन्ह दिनुपर्ने, आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, क्षतिपूर्ति, शहीद घोषणालगायत निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।

राजपा नेपालका नेता राजेन्द्र महतोले राजपासहितको गठबन्धनको माग पूरा गरेर वातावरण बनाइए निर्वाचनमा सहभागी हुने बताए ।

‘सबै सहभागी हुने गरी वातावरण बनाएर निर्वाचन गरौं भन्ने सहमतिअनुसार नै मिति परिवर्तन भएको हो,’ महतोले भने, ‘अब यसबीच सरकारले के–के गर्छ ? त्यो हेरेपछि निर्वाचन स्थगित गरेर पनि सहभागी हुन्छौं ।’

राजपा नेपालका नेता राजकिशोर यादवले कुनै लिखित सहमति नभएको बताए ।

‘अहिले जुन मागका लागि आन्दोलन गरिरहेका छौं, त्यो सम्बोधन गर्ने काम राज्यको हो,’ यादवले भने, ‘यदि हाम्रो माग सम्बोधन हुन्छ भने निर्वाचनमा जान तयार छौं ।’

उता, प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन, स्थानीय तह संख्या बढाउने विषयमा कुनै सहमति नभएको जनाएको छ ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले दल दर्ता, निर्वाचन चिह्न दिन केही ऐन संशोधन गर्नुपर्ने भएकाले त्यसमा एमालेको सहमति रहेको बताए ।

तपाइको मत