राजपा र समाजवादी पार्टी एकता गर्ने सहमति, निर्वाचन आयोगलाई दियो जानकारी

११ बैशाख ०७७, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीले बुधबार पार्टी एकता गर्ने सहमति गरेका छन् ।

पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गर्दै दुबै पार्टीले एकतापछिको गठित पार्टीको नाम “जनता समाजवादी पार्टी, नेपाल” रहने सहमति गरेका छन् ।

सहमतिअनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता कायम रहने र झण्डा समाजवादीको रहने निर्णय गरिएको छ ।

सहमति पत्रमा समाजवादी पार्टीको तर्फबाटबाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन भने राजपाको तर्फबाट महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

गएराति पार्टी एकीकरण गर्ने सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन निर्वाचन आयोग पुगेका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी आयोगलाई प्राप्त भएको र नयाँ दल दर्ताका लागि आवश्यक कागजात पेश गरेपछि प्रक्रिया अगाडि बढाउने बताए ।